काठमाडौँ, असोज २० गते । सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षभित्र खरको छाना हटाउने सरकारको योजना रहेको बताउनुभएको छ ।व्यवस्थित बसोबास कार्यक्रमअन्तर्गत नै अहिले मुलुकभरि खरको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उहाँले भन्नुभयो, “आगामी तीन आर्थिक वर्षभित्र मुलुकभरि खरको छाना भएका घर हुने छैनन् ।”
विश्व बसोबास दिवस, २०२० को अवसरमा सहरी विकास तथा भवन निर्माण विभागद्वारा सोमबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले व्यवस्थित बसोबास नै सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । ‘सबैका लागि आवास ः समृद्ध सहरी विकास’ भन्ने मूल नारासहित यो वर्ष विश्व बसोबास दिवस मनाइँदै छ । सहरी विकास मन्त्रालयको तथ्याङ्कअनुसार अहिले नेपालमा करिब पाँच लाख घर बसोबासका लागि असुरक्षित छन् ।
“सबै सङ्घीय निर्वाचन क्षेत्र र त्यहाँ रहेका स्थानीय तहहरूमा खरको छाना हटाउँदै जस्तापाताको छाना लगाउने कार्यक्रम अहिले सञ्चालनमा रहेका छन्”, उहाँले थप्नुभयो, “स्थानीय सरकारसँग समन्वय गर्दै खरको छाना हटाएर जस्तापाताको छाना लगाउने काम भइरहेको छ ।”
नेपालको संविधानमा आवासलाई नागरिकको नैसर्गिक अधिकारका रूपमा उल्लेख गरिएको छ । अहिले मुलुकका ७६ प्रतिशत घर असुरक्षित र अव्यवस्थित रहेको अनुमान गरिएको छ । सन् १९८६ बाट यो दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९८६ मा ‘आवास मेरो अधिकार’ नाराका साथ बसोबास दिवस मनाएको थियो ।
ADVERTISEMENT

