पछिल्लो २४ घण्टामा विश्वभर ३३ लाख ४१ हजार तीन सय ९० जना नयाँ बिरामी थपिएका छन् ।
नयाँ थपिएकासहित विश्वमा सङ्क्रमितको सङ्ख्या ३४ करोड २६ लाख ६६ हजार सात सय ७८ पुगेको छ । विश्वमा दुई दिनयता दैनिक ३० लाखभन्दा बढी सङ्क्रमित थपिँदै छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण व्यापक बनिरहेका बेला विश्वमा कोरोनाको फैलावट तीव्र बनेको छ ।
कोरोनाको फैलावट तीव्र बन्द महामारीका कारण विश्वको अवस्था अस्तव्यस्त बन्ने देखिएको छ । सङ्क्रमण व्यापक रूपमा फैलिँदै गए पनि नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकहरु सफल हुन सकिरहेका छैनन् । कोरोनाविरुद्धको खोप लगाउने र सावधानी अपनाउने तथा स्वास्थ्य मापदण्डको पालना गर्ने कुरालाई सबैजसो मुलुकले जोड दिइरहेका छन् ।
यद्यपि महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण कम हुन सकिरहेको छैन । महामारीको दोस्रो लहरमा विश्वमा सात लाखभन्दा बढी सङ्क्रमित एक दिनमा भेटिने गरेका थिए । कोरोनाका कारण दैनिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।
सङ्क्रमण घटेर विश्वमा दुई लाख हाराहारीमा झर्यो । मृत्यु दर पनि कम हुँदै गयो । तर ओमिक्रोनको सङ्क्रमण सुरु भएसँगै विश्वमा लगभग पाँच गुणा हाराहारीमा नयाँ बिरामी थपिने क्रम जारी छ । मृत्यु दरमा भने उतारचढाव कायमै छ ।
सङ्क्रमण तीव्र गतिमा बढिरहे पनि त्यसबाट गम्भीर बिरामी भएर अस्पताल भर्ना हुनेको सङ्ख्या भने कम छ । यसअघि कोरोनाले अत्यासलाग्दो अवस्था बनाउँदा विश्वका विभिन्न मुलुकमा सङ्क्रमितको उपचार गराउने ठाउँको अभाव भएको थियो । विभिन्न मुलुकले अक्सिजन र औषधिको अभाव झेल्नु परेको थियो ।
तर पछिल्लो समय सङ्क्रमण भयावह रूपमा फैलिरहे पनि गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या भने कम नै छ । अस्पताल भर्ना भएर उपचार गराइरहेका अधिकांश सङ्क्रमित दीर्घरोगीहरु छन् । कोरोनाविरुद्धको खोपका कारण पनि सङ्क्रमित हुनेहरुको अवस्था सामान्य नै रहेको विज्ञको दाबी छ ।
विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये २७ करोड ४८ लाख ५१ हजार चार सय ३२ जना उपचारपछि निको भइसकेका छन् । एकै दिन १६ लाख ४८ हजार तीन सय ४४ जना कोरोनामुक्त बने । विश्वमा नयाँ थपिनेभन्दा निको भएर सामान्य जीवनमा फर्किने सङ्क्रमितको सङ्ख्या झन्डै आधा मात्रै छ ।
निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या दोब्बर छ । जसका कारण विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या भने बढेको छ । विश्वमा हाल सक्रिय सङ्क्रमित छ करोड २२ लाख २३ हजार दुई सय ९४ छन् ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये ९५ हजार नौ सय ८६ जनाको अवस्था मात्रै गम्भीर छ । विश्वमा पछिल्लो २४ घण्टामा आठ हजार चार सय ३२ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५५ लाख ९२ हजार ५२ पुगेको छ ।
अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या सात करोड नाघेको छ । एकै दिन पाँच लाख ३१ हजार दुई सय ४३ जना जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या सात करोड तीन लाख ३९ हजार दुई सय ५१ पुगेको छ ।
चार करोड ४० लाख एक हजार चार सय ९७ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा एक लाख नौ हजार दुई सय २० जना कोरोनामुक्त बने । अमेरिकामा दुई करोड ५२ लाख ५४ हजार चार सय ७५ जना सक्रिय सङ्क्रमित छन् ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये २६ हजार तीन सय ५३ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन कोरोनाका कारण अमेरिकामा दुई हजार एक सय ७३ जनाको मृत्यु भयो । मृत्यु हुनेको सङ्ख्या लामो समयपछिको उच्च हो ।
दोस्रो लहरमा सङ्क्रमण उच्चविन्दुमा पुग्दा अमेरिकामा दैनिक दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । त्यो सङ्ख्या घटेर एक सयभन्दा तल पनि झर्यो । तर पछिल्लो समय अमेरिकामा सङ्क्रमण व्यापक बढिरहँदा मृत्यु दर पनि उकालो लाग्दै छ ।
हालसम्म अमेरिकामा आठ लाख ८३ हजार दुई सय ७३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।
नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा पनि दैनिक सङ्क्रमण बढ्दो अवस्थामा छ । एकै दिन भारतमा तीन लाख ४४ हजार आठ सय ५९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ८५ लाख ६३ हजार छ सय ३२ पुगेको छ ।
तीन करोड ६० लाख ४७ हजार आठ सय २३ जना उपचारपछि निको भए । पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार सात सय ९४ जना भारतीय नागरिकले कोरोनालाई पराजित गर्न सकेका छन् । भारतमा हाल २० लाख २७ हजार तीन सय ८७ जना सक्रिय सङ्क्रमित छन् ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । एकै दिन सात सय तीन जनाको मृत्यु भएसँगै भारतमा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ८८ हजार चार सय २२ जना पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

