मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी आरोपमा ७ जनालाई पक्राउ गरेको हो । सातै जना शुक्रबार राति पक्राउ परेका हुन् ।
जेठ २ गते राती मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित मिना कुमारी बिकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय बलराम गुरूङ, सोही स्थानका ३९ वर्षीय सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय मनोज परियार छन् ।
चोरी भएको मोटसाइकल इटहरी महानगरपालिका १३ का २८ वर्षीय राजेश मेहताको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।

