चितवन २९ मंसिर । चितवनको रत्ननगरमा जारी पालिका स्तरीय मेयर कप खुल्ला नकआउट फुटवल प्रतियोगितामा माडी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । विहीवार भएको दोस्रो सेमिफाइनल खेलमा भरतपुर महानगरपालिकालाई २ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै माडी नगरपालिका फाइनलमा प्रवेश गरेको हो । माडीको जितका लागि पदम नेपाली, विबेक गुरुङ र रितेश क्षेत्रीले एक एक गोल गरेका थिए । भरतपुर महानगरपालिकाको लागि रोशन क्षेत्री र अनिल रानामगरले एक एक गोल गरेपनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका माडी नगरपालिकाका खेलाडी विबेक गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई रत्ननगर नगरपालिकाका विज्ञ सल्लहाकार रामहरि न्यौपाने, खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी, प्रबक्ता कुलप्रसाद सापकोटा, नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले २ हजार ५०० नगद पुरस्कार हस्तान्तरण गरेका थिए । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा कालिकालाई पराजित गर्दै आयोजक रत्ननगर नगरपालिका फाइनलमा प्रवेश गरेको थियो । पुस २ गते शनिवार रत्ननगर र माडी नगरपालिका बीच उपाधिका लागि प्रतिस्पर्धा हुने रत्ननगर खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए । सात वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख १ हजार १११ र दोस्रो हुने टिमलाई ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।
ADVERTISEMENT

