१६औँ संस्करणको युरो कपमा जर्मनीले डिफेन्डिङ च्याम्पियन पोर्चुगलमाथि जित निकालेको छ । शनिबार राति जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा घरेलु टिमले पोर्चुगलमाथि ४–२ गोलको जित निकालेको हो ।
जर्मनीको जितमा काइ हार्भट्ज र रोबिन गोसेन्सले एक–एक गोल गर्दा दुईवटा आत्मघाती गोल उपहारमा पाएको थियो । पोचुगलका लागि भने कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले समान एक–एक गोल गरे ।
खेलमा पोर्चुगलले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले डिएगो जोटाको पासमा गोल गरेका हुन् । रोनाल्डोले करिअरमै पहिलो पटक जर्मनीविरुद्ध गोल गरेका हुन् । यसअघि उनले जर्मनीविरुद्ध चार खेल खेल्दा गोल गर्न सकेका थिएनन् ।
खेलको ३५औँ मिनेटमा पोर्चुगलका डियाजले आत्मघाती गोल गरेपछि जर्मनी बराबरीमा फर्कियो । त्यसको चार मिनेट नबित्दै पोर्चुगलका गुएर्रेइरोले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफभरि जर्मनीले २–१ गोलको अग्रता बनायो ।
५१औँ मिनेटमा हार्भट्जले गोसेन्सको पासमा गोल गर्दै ३–१ गोलको अग्रता दिलाए । ६०औँ मिनेटमा जोसुआ किम्मिचको पासमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४–१ गोलको अग्रता दिलाए ।
यससँगै जर्मनीले युरो कप २०२० मा पहिलो जित निकालेको छ । यसअघि ऊ विश्वकप विजेता फ्रान्ससँग १–० गोलले पराजित भएको थियो । उसले पोर्चुगललाई उछिन्दै समूह ‘एफ’को दोस्रो स्थान पक्का गरेको छ ।
पोर्चुगलले भने पहिलो खेलमा हङ्गेरीमाथि ३–० गोलको हार ब्यहोरेको थियो । पोर्चुगलसँग तीन अङ्क छ ।
६७औँ मिनेटमा रोनाल्डोको पासमा जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने कोसिस गरे । तर बाँकी समय गोल नहुँदा खेलमा जर्मनी विजयी बन्यो ।

