BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं,असोज २१ । कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा विद्युत् आपूर्तिमा अवरोधकै कारण पढाइ छुट्टी समस्या भइरहेको गोकर्णेश्वर–२ स्थित चण्डिकाश्वरी अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा सचिना थापाले दुखेसो पोखिन ।

गोकर्णेश्वर क्षेत्रमा आइतबार २४सै घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विगत एक महिनादेखि दिउँसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने समयमै दैनिकजसो दुईदेखि तीन घण्टासम्म बत्ती जाने गरेको छ । जोरपाटीबाट सुन्दरीजलसम्मको सडक विस्तारका क्रममा रहेकाले पटकपटक दिउँसो पोल सार्न, बत्ती बिग्रिएका स्थानमा बनाउनेलगायत कामले विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण गोकर्ण नो लाइट कार्यालयका प्रमुख उमेशमान चिनियाँ विभिन्न स्थानमा विद्युत् तार, ट्रान्सफर्मरलगायत उपकरण बनाउनुपर्ने भएकाले विद्युत् आपूर्तिमा अवरोध आउने गरेको स्वीकार्छन् । आइतबार भने बौद्धमा टिपरले ट्रान्सफर्मर ढाल्दा २४ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भएको उनले सुनाए। टिपरले तीनवटा पोल ढालेको प्राधिकरणले जनाएको छ ।

करिब १३ हजार ग्राहक रहेको र भौगोलिकरूपमा पनि नुवाकोट र सिन्धुपाल्चोकसम्म जोडिएको काठमाडौँको बस्ती हेर्न जम्मा छ जना मात्र कर्मचारी भएकाले काममा ढिलाइ हुने गरेको छ । कार्यालयका कर्मचारी अस्मिन चालिसे भौगोलिकरूपमा विकट क्षेत्र रहेको कार्यालयका लागि दिइएको बा१य ४९० नंको गाडी लिएर बत्ती बिग्रिएको स्थानमा बनाउन जाँदा नगुड्ने अवस्था आउने गरेको दुखेसो पोख्छन् ।

बिग्रिएको बत्ती बनाउन जाँदा गाडी नै बिग्रने गरेकाले बनाउन ढिला हुँदा ग्राहकको गुनासो आउने गरेको छ । नेपालकै दोस्रो जलविद्युत् केन्द्र सुन्दरीजल रहेको गोकर्णेश्वर क्षेत्रमा दैनिक घण्टौँ बत्ती जाने समस्या भए पनि समाधानका लागि प्रभावकारी उपाय अवलम्बन हुनसकेको छैन ।

गाउँगाउँमा सिंहदरबार पुग्यो भनिए पनि सिन्धुपाल्चोक र नुवाकोट जिल्लासँग सीमा जोडिएको बस्तीका मानिस मासिकरूपमा रु ८० विद्युत् शुल्क तिर्न रु ५०० खर्च गरेर चावहिलसम्म पुग्नुपरेको मूलखर्कका स्थानीयवासी हर्कबहादुर तामाङले बताए। सुन्दरीजल वा गोकर्णसम्म बत्तीको पैसा तिर्ने गरी काउन्टरको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ ।

विद्युत् आपूर्तिमा अवरोध आउन थालेपछि गोकर्णेश्वर नगरपालिका शिक्षा समितिले असोज १६ गतेदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पठनपाठन विद्यालयमै शुरु गरेको छ । विद्यालयको बस नचलाउने, विद्यालयमा खाजा, खानाको नबनाउनेलगायत व्यवस्था गरेर विद्यालय खोल्ने निर्णय गरिएको शिक्षा समिति सदस्य श्रीकृष्ण ज्योतिले बताए ।

अभिभावकले नै सुरक्षितरूपमा विद्यार्थीलाई विद्यालयसम्म पु¥याउने गरी सञ्चालन गर्ने दिने निर्णय गरिएको उनले सुनाए । समितिले कोरोनाको महामारीका बेला विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका नै तयार पारेको छ ।

समितिको निर्णयपछि पनि गोकर्णेश्वरका सबै सामुदायिक विद्यालय खुले पनि संस्थागत विद्यालय भने खुलिसकेका छैनन् । प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ अनलाइन कक्षा विद्युत् आपूर्ति, इन्टरनेटको कमजोरी, मोबाइल तात्ने समस्या, विद्यार्थीको आँखामा हुने समस्यालगायत कारण प्रभावकारी नभएकाले बिहानैदेखि विद्यार्थीका बीचमा दूरी कायम गरी कक्षा सञ्चालन शुरु भएको बताउन्छन ।

एक मेचमा एक जनामात्र विद्यार्थी राखेर स्वास्थ्य सुरक्षाका उपाय अपनाइ पठनपाठन शुरु भएको विद्या व्यायाम स्कूलको प्रधानाध्यापकसमेत रहेका उनले बताए । अनलाइनबाटै शैक्षिकसत्र प्रभावकारी हुने नदेखिएकाले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको प्याब्सनको विश्लेषण छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय