कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत आज नेपालले चाइनिज ताइपेईको सामना प्रतिस्पर्धा गर्दै छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला हुने यो खेल नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।
पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले आज पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवित राख्न चाहन्छ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चार अवे र १ होम गेम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जिवन्त राख्न चाहन्छ ।
तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेलअघि बताएका छन् ।
यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।
नेपाल चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबलका साथ मैदान उत्रने छ । चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ सङ्क्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।
छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।
फिफा वरीयताको १ सय ४१औँ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमने–सामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दशरथ रङ्गशालामा भएको थियो । मैत्रीपूर्ण उक्तः खेलमा १–० ले पछि परेका अवस्था उल्ट्याँदै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जहाँ नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

