सरकारले दक्षिण अफ्रिकासहित नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को जोखिम बढेसँगै सरकारले दक्षिण अफ्रिका बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङ गरि नौ देशबाट आउने यात्रुको प्रवेशमा रोक लगाएको हो ।
मन्त्रिपरिषद्को बैठकले ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि नेपाल प्रवेशमा रोक लगाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएअनुसार ती देशका यात्रुहरूलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न अनुमति नदिने निर्णय भएको छ ।
ती मुलुकमा ट्रान्जिटमा रहेका तथा सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यसबाहेक सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारको निर्णय रहेको छ ।

