इङ्ग्लिस क्लब टोटनह्याम हटस्परले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । बुधबार राति टोटनह्यामले इङ्ग्ल्यान्डको चौथो डिभिजन क्लब कोलचेस्टर युनाइटेडमाथि ३–० गोलको जित निकालेको हो ।
कोलचेस्टरको मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन सन हिउङ–मिन, लुकास मौरा र डेले अली एक–एक गोल गरे । खेलको ११औँ मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाए ।
१४औँ मिनेटमा मौराले गोल गरेपछि टोटनह्यामले आफ्नो अग्रता दोब्बर बनायो । ३८औँ मिनेटमा अलीले गोल गर्दै पहिलो हाफभरि टोटनह्यामलाई ३–० गोलको अग्रता दिलाए । दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् ।
टोटनह्यामले प्रिमियर लिगको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो । नयाँ सिजनको प्रिमियर लिग १३ अगस्टबाट सुरु हुँदै छ । टोटनह्यामले साविक विजेता म्यानचेस्टर सिटीसँग खेल्दै प्रिमियर लिगको थालनी गर्नेछ । यो खेल १५ अगस्टमा टोटननह्यामको मैदानमा हुनेछ ।

