युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा बुधबार (आज) दुई खेल हुँदै छन् । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत चार टिम आमने–सामने हुँदै छन् ।
आज स्पेनिस महारथी रियल मड्रिड फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को खेल हुने छ भने साविक विजेता म्यानचेस्टर सिटी पनि प्रतिस्पर्धामा छ ।
रियल र पिएसजीबीचको खेल स्पेनस्थित सान्टियागो बर्नाबेउमा नेपाली समयानुसार राति १ः४५ बजे हुने छ । जसमा दुवै टिम क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यका साथ भिड्ने छन् ।
घरेलु टिम रियल १–० गोलले पछि परेको अवस्थामा छ । यसअघि पहिलो लेगमा किलियन एम्बाप्पेको गोलको सहायतामा पिएसजीले जित निकालेको थियो । सो खेलमा पिएसजीका अर्का स्टार लियोनल मेस्सी भने पेनाल्टीमा चुकेका थिए ।
अब, दोस्रो लेगमा पिएसजी अग्रता कायम गर्ने दाउमा छ । रियल भने पिएसजीको अग्रटा उल्टाउँदै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा छ ।
राति सोही समय इङ्ग्ल्यान्डस्थित इतिहादमा हुने अर्को खेलमा सिटीले पोर्चुगलको स्पोर्टिङ सिपीसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो लेगमा ५–० गोलको फराकिलो अग्रता बनाएका कारण सिटी सहज अवस्थामा छ ।

