प्रधानमन्त्री सुशीला कार्कीले विश्वकप टि–२० खेल्न लागेका नेपाली टोलीलाई विजयीका लागि शुभकामना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै नेपालको संसारभर फैलिएका प्रशंसकको पनि साथ रहेको बताएकी छन् । उनले कप्तान रोहित पौडेलको टोलीले नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास राखेकी छन् ।
उनले भनेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ–नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार–सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः । अनि धेरै माया पनि ।’
