२०४८ सालदेखि शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचन लड्दै जित्दै आइरहेका थिए। यस पटक भने उनले निर्वाचन लड्न पाएनन्। आफूले निर्वाचन लड्न नपाएपछि सिंगापुरबाटै कांग्रेसकै उम्मेदवारलाई पराजित गर्ने भूमिकामा लागेको आरोप छ।
डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्। महरले पाएको मत २०४८ पछि कांग्रेसले पाएको सबैभन्दा कम मत हो।
देउवाले २०४८ सालमा झन्डै २४ हजार ५ सय मतसहित डडेल्धुराबाट पहिलो पटक जित हासिल गरेका थिए। त्यसपछि २०५१ सालमा करिब २० हजार मत ल्याएर पुनः निर्वाचित भए भने २०५६ सालमा २८ हजार मत प्राप्त गरे ।
देउवा २०६४ सालको संविधानसभा निर्वाचनमा २० हजार ५२९ मत पाएका थिए भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ४४६ मतसहित निर्वाचित भएका थिए । यस अघि २०७९ सालमा पनि २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी भए ।
२०४८ सालदेखि डडेल्धुरामा देउवाले निरन्तर जित निकाल्दै कांग्रेसको राजनीतिक विरासत जोगाइरहेका थिए। तर यस पटक उनी मैदानमा नउत्रिँदा कांग्रेस मात्रै पराजित भएन, कांग्रेसले ३४ वर्षसम्म पाइरहेको मत पनि घट्यो। मत घटाउन स्वयं देउवा सक्रिय रहेको केही नेताहरूको आरोप छ।
‘हाम्रो करिब ४ हजार मत सिंगापुरबाटै गरिएका फोनहरूबाट प्रभावित भएका छन्,’ कांग्रेसका एक नेताले भने, ‘यसको छानबिन हुनुपर्छ।’
देउवाबाटै असहयोग भएको आरोपहरू बढ्न थालेपछि कांग्रेस जिल्ला कार्यसमितिले पनि यस विषयमा छानबिन गर्ने भएको छ।
‘अस्ति हामीले बैठक बसेर वडासम्म कसरी कांग्रेस पराजित भयो भन्ने विषयमा छानबिन गर्न परिपत्र नै गरिसकेका छौँ,’ जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘कांग्रेसको पराजयमा कांग्रेसकै नेताहरूको पनि भूमिका रहेको आरोप लागिरहेको छ, त्यो विषयमा हामी छानबिन पछि मात्रै भन्छौँ।’
देउवाले फागुन २० गते साँझ एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर डडेल्धुरामा महरलाई हराएर निर्वाचन बहिष्कारको औचित्य पुष्टि गर्न आग्रह गरेको स्रोतको दाबी छ।
डडेल्धुराको देउवा परिवारका सय जनाले मतदान समेत गरेका थिएनन्। देउवाका विश्वासपात्रमध्ये रहेका राज्यमन्त्रीदेखि स्वकीय सचिवसम्म कांग्रेस उम्मेदवार हराउने भूमिकामा रहेको कांग्रेस स्रोतले जनाएको छ।
गन्यापधुरा १ शेरबहादुर देउवाको वडा हो । सधैँ यहाँ सबैभन्दा धेरै मत देउवाले नै पाउँदै आइरहेका थिए । तर, यस पटक कांग्रेसले ३२३ मत प्राप्त गर्दा रास्वपाले ६२१ मत प्राप्त गरेको छ । गन्यापधुरा ५ सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काको वडा हो । यहाँ कांग्रेसको ३३४ मत पाउँदा रास्वपाको ३९४ मत आएको छ ।
‘देउवाको आफ्नै गृहपालिका गन्यापधुरा गाउँपालिकामा काङ्ग्रेसभन्दा रास्वपालाई करिब एक हजार बढी मत जानु र देउवाको वडाबाट समेत काङ्ग्रेसभन्दा रास्वपाले दोब्बर मतले अघि जानुमा देउवा परिवार कांग्रेस हराउने अभियानमा लागेको सिधै देखिन्छ,’ गन्यापधुराका एक कांग्रेस नेताको भनाइ छ।
कांग्रेसले मात्रै होइन, नेकपाले पनि स्वतन्त्र उम्मेदवार तारा जोशीलाई मत दिएका थिए।
अजयमेरु ४ माओवादी नेता खगराज भट्ट तथा गाउँपालिका अध्यक्ष विकास भट्टको वडा हो । यहाँ नेकपाले १८७ मत पाउँदा रास्वपाले ३९१ मत प्राप्त गरेको छ ।
‘सबैको भोट उतै गएको छ। हाम्रो पनि गएको छ,’ नेकपा उम्मेदवार मानसिंह मालले भने, ‘हाम्रै गाडीमा हिँड्ने, हामीसँगै बस्ने ,हाम्रै नेताहरूले पनि पार्टीलाई भोट दिएनन्, रास्वपालाई साथ दिए।’
अन्तरघातमा संलग्न रहेकाहरू माथि छानबिनको प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेर वडास्तरसम्म सर्कुलर गरिरहेको भन्दै कांग्रेस उम्मेदवार महरले आफू पराजयका कारणहरू छानबिनपछि मात्रै भन्न सकिने बताए।
‘नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले यस विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। छानबिनपछि धेरै कुरा थाहा होला,’ उनले भने, ‘मैले पार्टीको संस्थागत मत पनि नपाएको कुरा त तथ्याङ्कले देखाउँछ।’
