सरकारमा जान आतुर देखिएका गौतमले आफ्ना लागि ढोका बन्द भइसकेको निष्कर्ष समेत निकालेका छन् । गृहमा रामबहादुर थापा बादलको निरन्तरता र अर्थमा विष्णु पौडेलको प्रवेशसँगै गौतमले त्यस्तो निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री ओलीले गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाएर मनाउन खोजेपनि त्यसमा तयार भएनन् ।
मन्त्री बन्नकै लागि राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमका सामु सर्वोच्च अदालतले ढोका अहिलेलाई बन्द गरिदिएको छ । तर, गौतमले यसमा पनि ओलीको भूमिकामाथि आशंका गरेका छन् । यसकारण ओलीसँग असन्तुष्ट भएका छन् ।
गौतमसँग ओलीको टकराव र मिलनको सिलसिला चल्दै आएको छ । कुनैबेला एमाले विभाजन हुँदा मुख्य द्वन्द्व ओली र गौतमबीच नै भएको थियो । पछि गौतम फेरि ओलीसँग नजिकिए । एमाले अध्यक्षमा ओलीलाई विजयी बनाउन भूमिका खेले । तर, बर्दियामा गएको चुनावमा पराजित हुनुमा ओली पक्षमाथि आशंका गरे ।
दूरी फेरि बढ्यो । तर, ओलीले उपाध्यक्ष बनाएर गौतमलाई नजिक ल्याए । फेरि ओलीलाई सत्ताबाट हटाउन लागेको समूहमा गौतम सहभागी भए । टकराव चुलीमा पुग्दा गौतमले समूह छाडे । उनले छ बुँदे सहमतिको प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपाललाई समेत जिल्लाए । सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने आशामा सम्झौता गरेको आरोप लाग्यो ।
गौतमलाई कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने त कहिले सरकारमा लाने संकेत गर्ने गर्दै अलमलाइरहे । यसले उल्टै गौतममाथि पदलोलुपको आरोप लाग्यो । परिणाम उनले नराम्रो धोकाहरु खाँदा पनि ओलीलाई नै साथ दिएको भन्दै निकटस्थहरु चिढिए ।
यसपटक भने गौतमले अब ओलीको कुनै आश्वासनमा नपर्ने दृढता व्यक्त गरिसकेको बुझिएको छ । यतिसम्मकी उनले निकटस्थहरुसँग ओलीलाई देखाइदिने भनेका छन् । गौतमले अब चाल्ने कदम र नेकपाभित्रको नयाँ शक्ति सन्तुलनले नयाँ राजनीतिक तरंग आउने सम्भावना बढेको छ ।