झापामा भएको सवारी दुर्घटनामा परेर बिहीबारसाँझ दुई जनाको ज्यान गएको छ ।
मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–४ चियाबगानमा ट्याक्सी र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय कमलराज चौधरी र १९ वर्षीया हीना महतको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कमल को ७ प ९४६२ नम्बरको मोटरसाइकलका चालक हुन् । हीना मोटरसाइकलको पछाडि सवार थिइन् । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा साँझ ६ः३० बजेतिर बिर्तामोडको बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।
कमलले चलाएको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ ज २०९६ नम्बरको ट्याक्सीमा ठोक्किएर दुर्घटनामा परेको थियो । मोटरसाइकल पनि दक्षिणतर्फ आउँदै थियो । दुर्घटनापछि ट्याक्सी चालक फरार बनेका छन् । प्रहरीले ट्याक्सी नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।