धनगढी, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा छोरी–बुहारी र सम्धीवाला पार्टी नभएको बताएका छन् ।
शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सो कुरा बताएका हुन् ।
प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले यस्तो भने, ‘नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी होइन ।’
प्रचण्ड र माधव कुमार नेपालले पार्टी आफ्नो भएको दाबी गरेकोप्रति व्यङ्ग्य गर्दै केपी ओलीले भनेका छन्, ‘प्रचण्ड र नेपाललाई छोरी, बुहारी र सम्धीको मात्र मतलब भएको भन्दै नेकपा उनीहरुको हुनै सक्दैन ।’ ओलीले पार्टी हाम्रो भनेर गफ नगर्न समेत प्रचण्ड–नेपाल समूहलाई समेत गराएका छन् ।
सोही जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती समेत दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टी विभाजन गरेको आरोप लगाउँदै ओलीले यो समूहलाई यस्तो चुनौती दिएका हुन् ।
उनले नुहाउँदा पनि दुई–चार वटा केस झरेर जाने हुँदा पार्टीलाई केही असर नपर्ने दाबी समेत गरेका छन् ।
‘तीन करोड मान्छेमा कतिजना मान्छे गए ? सुन्नुभयो– उहाँहरु २६५ कि कति गर्यौं भन्नुहुन्छ । अनि के भयो त ? नुहाउँदा पनि दुई–चार वटा केस झरेर जान्छ के हुन्छ ?’, ओलीले भने, ‘दुई अंकमा सिट जितेर देखाउनुहोस् । देशभरीबाट १० सिट जितेर देखाउनुहोस् ।’