२३ पुस । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।
महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।
सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर एयर क्वालेटी इन्डेक्स १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।
वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्छ । हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २।५’ र ‘पिएम १०’ स्केलमा पनि मापन हुने उनले बताए ।
उनका अनुसार चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको हो । ‘चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने बताउँदै उनले भने, ‘हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई गम्भिर असर गर्छ ।’
औद्योगिक सहरको रुपमा रहेको विराटनगरमा सवारी चाप पनि उच्च छ । प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने बताउँदै उनले भने, ‘धातुले श्वासप्रश्वासको माध्यमबाट शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्छन् ।’ प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँग सँगै अन्य गम्भिर रोग देखिनसक्ने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय