पौष २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष एवं सहरी विकासमन्त्री प्रभु साह नेतृत्वको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नियम प्रक्रियाविना हचुवाका भरमा उक्त शिक्षालयको नामकरण भएकाले अब सच्याएर क़ानुनसम्मत ढंगले रामवृक्ष यादवको नाम राख्ने बताए ।
प्रधानमन्त्री ओलीले रामवृक्षको नाममा चाँडै क्याम्पस सञ्चालन गराउने प्रतिबद्धता जनाएको बैठकमा सहभागी नेता रामपृत रामले बताए । खयरमारा सहिद रामवृक्ष यादवको मान(सम्मान र पहिचानसँग जोडिएको ऐतिहासिक भूमि रहेकाले त्यहाँ उनकै नाममा पूर्वाधार निर्माण हुनेमा ढुक्क हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।
छलफलमा मन्त्री प्रभु साहका साथै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य दिलीप साह, नेता रामपृत रामलगायतको सहभागिता थियो ।