पौष १६ । वैदेशिक रोजगार विभागले भोलि शुक्रबार देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ ।
विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।
भोलिदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । यो सेवा लागु भएसँगै पुनः श्रम स्वीकृति लिन विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले बताए । एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणका आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दाहालले बताए ।
नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेसन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको दाहालले बताए । अबको दुई महिनाभित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सक्ने गरी काम भइराखेको उनले बताए ।
वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरे विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति एफईआईएमएस मार्फत फाराम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने पनि महानिर्देशक दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय