कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना सम्बन्धी विवादमा मुछिएका एसपी डिल्लीराज विष्टलाई काममा फर्काउने निर्णय सरकारले गरेको छ ।
हत्या प्रकरणमा विवादमा मुछिएपछि विष्टलाई बर्खास्त गरेर जिम्मेवारीबाट हटाइएको थियो । बर्खास्त गरिएको लामो समयपछि सरकारले उनको निलम्बन फुकुवा गर्ने निर्णय लिएको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विष्टको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
विष्ट घटना भएका बेला कञ्चनपुरका प्रहरी प्रमुख थिए । सरकारको निर्णयसँगै उनी काममा फर्कन पाउने भएका छन् । विष्टमाथि दुई वर्षअघि भएको कारबाहीलाई बदर गर्दै सरकारले उनलाई काममा फर्काउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । घटनामा प्रहरीले लापरबाही गरेको देखिएपछि तत्कालीन प्रहरी प्रमुख विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भएका थिए ।
एसपी विष्ट २०७५ मंसिरमा बर्खास्त भएका थिए । २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको भनिएकी निर्मलाका हत्यारालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
सोही प्रकरणमा अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दासमेत दायर भएको थियो । उक्त मुद्दामासमेत एसपी विष्टले सफाइ पाइसकेका छन् । निर्मला हत्या प्रकरणमा मुछिएका भनिएका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी सेवामा फर्किसकेका छन् ।