नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले चुनावको सुनिश्चितता नभएसम्म नेपाली काङ्ग्रेस सडक सङ्घर्षमा उत्रिरहने बताएका छन् ।

नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं. ६ ले आयोजना गरेको विरो सभालाई सम्बोधन गर्दै नेता कोइरालाले सर्वोच्च अदालतले चुनावको मिति तोके पनि सुनिश्चित नभएसम्म सडकमा उत्रिरहने उनले बताएका हुन् । ‘विरोधसभा एक दिनको मात्र हुन्छ भनेर नसोच्नुहोस्,’ उनले भने, ‘सडक नेपाली काङ्ग्रेसले लिन्छ र सडकबाटै निर्णय गरेर जान्छौँ ।’

नेता कोइरालाले संविधानमा नभएको संसद् विघटन गरेर संविधानलाई घाइते बनाइएको भन्दै उनले सडकबाटै संसद् पुनःस्थापना गर्ने बताए ।

जननेता बिपी कोइरालाले कम्युनिष्टसँग आन्दोलन नगर्ने भने पनि गणेशमान, किसुनजी र गिरिजाप्रसादले कम्युनिस्टलाई लोकतान्त्रिक बनाउने प्रयास सफल हुन नसकेको बताए । उनले भने, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गाको बाङ्गै भयो ।’

विरोध साभामा नेता कोइरालाले अलोकतान्त्रिक केपी ओलीको साथ दिने माधवकुमार नेपाल र प्रचण्ड पनि मतियार भएको उनले आरोप लगाए । राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धानलाई केपी ओलीले प्रधानमन्त्रीको मातहतमा ल्याउन मौनता साँधेर नेपाल र प्रचण्ड पनि मतियार भएको उनले जिकिर गरे । उनले संसद् विगटनमा तीनैजना बराबर जिम्मेवार भएको आरोप लगाए ।

उनले नेपाली काङ्ग्रेस सरकारमा नजाने प्रस्ट पारे । उनले भने, ‘केपी ओलीको मतियार बन्न सरकारमा जाँदैनौँ । जान पनि हुँदैन ।’

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अर्को अधिनायकवादको रुपमा केपीतन्त्र आएको बताइन् । प्रधानमन्त्री केपी ओलीबाट संविधानको चीरहरण गर्ने काम भएको उनले जिकिर गरिन् ।

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले कोरोनाजस्तो महामारीको समयमा समेत सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लागाए ।

प्रदेश १ सांसद् तथा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधान ओलीको पाउमा लगेर बुझाउन नसकिने बताए । उनले संविधानको रक्षाका लागि सडक सङ्घर्षमा उर्लने बताए ।

यसअघि नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं. ६ ले असंवैधानिक संसद् विघटनविरुद्ध विराटनगरको वीरेन्द्र सभागृहअगाडिबाट निकालेको विरोध र्‍याली महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय