पौष ९ । सभापति शेरबहादुर देउवासँग आन्दोलनमा जाने विषयमा चर्काचर्की भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेको छ ।
पार्टीले पदाधिकारी बैठकबाट संसद् विघटनको कदमलाई असंवैधानिक पनि भन्ने आन्दोलनमा पनि नजाने कुराले प्रमुख प्रतिपक्षको साख नरहने भन्दै पौडेल पक्षले भेला आयोजना गरेको हो ।
केन्द्रीय समिति बैठकमा जानुअघि पौडेल पक्षले केन्द्रीय समितिमा प्रस्तुत हुने रणनीति र कार्यक्रमका विषयमा समेत प्रस्ताव लैजाने तयारी थालेको हो ।
बुधबारको बैठकमा सभापति देउवाले यही पुस १६ गते आन्दोलनको समय तोकेपछि पौडेलले विमति जनाएका थिए । ‘आन्दोलन भोलिदेखि नै थाल्नुपर्ने’ र १६ गने राष्ट्रिय मेलमिलाप दिवस भएकाले त्यसदिन आन्दोलन गर्न नहुने भन्दै पौडेलले प्रतिवाद गरेपछि सभापति देउवा र पौडेलबीच केहीबेर चर्काचर्की भएको थियो ।
सभापति र वरिष्ठ नेताबीचको द्वन्द्वमा केन्द्रीय सदस्यहरुसमेत विभाजित हुँदा कांग्रेस केन्द्रीय समितिभित्रको द्वन्द्व बाहिरिएको थियो ।
त्यसपछि पनि सभापति देउवा पक्ष बैठक लम्ब्याउने र अदालतबाट आएको फैसलाअनुसार चल्ने रणनीतिमा देखिएपछि आन्दोलनमा जान पौडेल–कृष्णप्रसाद सिटौला पक्षले दबाब सुरु गरेको हो ।
‘‘सभापतिज्यूको अदालतले चुनावका पक्षमा फैसला गर्छ, त्यसपछि चुनावको तयारी गर्ने रणनीति देखियो र उहाँले बैठक लम्ब्याउने र आन्दोलन नगर्ने रणनीति अख्तियार गर्नुभयो,’’ पौडेलनिकटका एक केन्द्रीय सदस्यले भने, “पार्टीले असंवैधानिक पनि भन्ने, त्यसलाई स्वीकार पनि गर्ने कुरा आफैँमा विवादित देखियो । यस्तो अवस्थाले जनतामा पार्टीको साख गिर्छ भनेर दबाब सुरु गरेका हौँ ।”
पौडेल पक्षको भेला अनामनगरमा जारी छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.