चितवन-कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन्।
उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो।
उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दी मध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन्। कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ।