पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरिने बताएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले हाल देशका विभिन्‍न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार/पाँच वर्षभित्रमा प्रदेशस्तरीय रंगशाला निर्माण गरिने बताए । सरकारले तल्लोतहबाटै खेलकुद विकासका कार्यक्रम सुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उनको छ ।

पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य-सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजूले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा एउटा कपडा फेर्ने कोठा र कार्यालय कोठासमेत नहुँदा खेलाडी तथा संघ मर्कामा परेको बताए ।

उद्घाटन खेलमा कास्कीको विजयी सुरुवात
प्रादेशिक छनोट प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । कास्कीले स्याङ्जालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी बनेको हो । टस जितेर ब्याटिङ गरेको स्याङ्जाले ३८ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रनको योगफल तयार गरेकामा कास्कीले २८ दशमलव चार ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो ।

कास्कीका तर्फबाट अभिषेक थापाले अविजित ४३, सुदीप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाए । स्याङ्जाका विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन बनाए । कास्कीका बलर विश्व कार्की र सुवास भण्डारीले समान तीन/तीन विकेट तथा कृष्ण पौडेल, अमृत गुरुङ, र विपिन खत्रीले एक/एक विकेट लिए । प्रतियोगिताअन्तर्गत शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुने संघका सचिव सुमनराज कार्कीले जानकारी दिए । -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय