हाम्रो छिमेकी राष्ट्र भारतमा पनौती शब्दलाई अलच्छिनको रुपमा प्रयोग गरिन्छ। त्यहाँ कुनै दुष्ट, अभागी या लच्छिन नभएको मान्छेलाई गाली गर्नुपर्दा कस्तो पनौती रहेछ भन्ने चलन छ। यति मात्र हैन कसैको भनेको काम बनेन, जुवामा दाउ लागेन या कुनै कामको प्रारम्भमै घाटा सहनुपर्यो, घरमा नयाँ बुहारी भित्रिने बित्तिकै नै अनिष्ट भयो भने कस्तो पनौती रहेछ या लाग्यो भन्ने चलन छ। भाषिक अतिकर्मण र परसंस्कृतिग्रहणको फलस्वरुप `पनौती´ शब्द नेपालीहरुका माझ पनि अलच्छिन या अपशकुनकै रुपमा प्रचलित हुन थालेको छ। यति सम्मकी काठमाण्डौंबाट पनौती जाने बसमा लेखिएको `पनौती- काठमाडौं´ शब्दाबली देख्दा युवायुवती र भारतीय पर्यटकहरु हाँस्ने गरेका प्रसस्त उदाहरणहरु अहिले पनि भेट्न सकिन्छ । फलस्वरुप स्वयं पनौतीबासी समेत अाफ्नो घर पनौती रहेको कुरा खुलेर भन्न सक्दैनन् ।
पनौतीको शाव्दिक अर्थलाई खोतल्ने हो भने यसको अर्थ अत्यन्तै पवित्र छ र यो जनमानसमाझ पुर्याउन जरुरी छ। किंवदन्ती अनुसार पनौती पद्मावती, लीलावती र लुप्त रुद्रावती नदीको पवित्र संगमस्थल हो। पद्मावतीको पहिलो अक्षर `प´, लीलावतीको दोस्रो अक्षर `ला´ र रुद्रावतीको अन्तिम अक्षर `ती´ निकालेर पलाँती नाम राखिएको र सोही नाम अपभ्रंस हुँदै जाँदा पनौती रहन गएको भन्ने भनाई छ। नेपाल भाषा अनुसार पलाँतीको अर्थ पाइला टेक्नु भन्ने हुन्छ। देवराज इन्द्रले समेत श्रापबाट मुक्ति पाएको, शचीले तीर्थ गरेको , गौतम श्रषिपत्नी अहिल्याले घोर श्रापबाट मुक्ति पाएको, विभिन्न कालखण्डमा विभिन्न देवता र देवऋषिहरुले पाइला टेकेको, भगवान रामचन्द्रले समेत अयोध्या जाने क्रममा अहिल्यालाई चरणले छोई शीलाबाट मुक्ति दिलाई पुनः मान्छेमै परिणत गराएको स्थान भएकाले यसलाई पुण्यभूमि मानिन्छ।
बनेपा हुँदै पनौती पुग्ने पवित्र नदीको नामबाट बस्तीको नाम पुण्यमती राखिएको र पुण्यमती शब्द नै `पुण्याती´, `पनाती´ हुँदै `पनौती´ रहन गएको भन्ने पनि अभिमत पाइन्छ।
यसरीनै परापूर्वकालमा १ जना राजकुमारले अज्ञानतावस अाफ्ना पिताको हत्या गरेपछि गुरुको सल्लाह बमोजिम सुकेको बाँस टेक्दै जाँदा पनौतीमा पुगेपछि बाँसमा टुसा पलाएको थियो भन्ने भनाइ पनि छ। नेपाल भाषा अनुसार बाँसलाई `पँ´ र तीर्थस्थललाई `ती´ भनिन्छ। पनौती नगर एउटै शिलामा अवस्थित छ र शीलालाई `ल्वँ´ भनिन्छ। अत: सुकेको बाँसले समेत प्राण पाएको एउटै शीलामा अवस्थित तीर्थस्थल `पल्वँती´ नाम रहन गएको र त्यही पल्वँती शब्द पलाँती हुँदै `पनौती´ भएको भन्ने भनाई पनि छ।
अत: जसले जसरी व्याख्या गरेको भएता पनि पनौतीको अर्थ पुण्यभूमि नै हो। यो पूण्यभूमि मात्र हैन पौराणिक भूमि समेत हो। रामायण र महाभारतको कथासँग सम्बन्धित यस स्थलमा महासत्व नमोवुद्धको समेत जन्म भएको थियो। महाभारतको कथा अनुसार पाँच पाण्डबहरु द्रौपदीसहित गुप्तबास बस्ने क्रममा छदमभेष गरि बिराट राजाकोमा बसेका र भिमसेनले किचकबध गर्नुपरेको प्रसङ्ग समेत जोडिएको यस स्थानमा नेपालमा अन्त कतै पनि नभएको द्रौपदादेवीको मन्दिरले पाण्डबहरु यहाँ बसेका थिए भन्ने केही प्रमाण दिलाउँछ। पाञ्चाल नगरी समेत भनेर चिनिने यस नगरीमा १२ वर्षे मकर मेला समेत लाग्दछ। पाञ्चाल देशका नरेशको घोर तपस्या पश्चात् फूलचोकी देवीबाट लीलावती नदी वरदानमा पाएको र सोही नदीको सङ्गमस्थल त्रिवेणीधाममा प्रत्येक १२ वर्षमा मकरमेला गरिने प्रचलनले पनौती केबल पुण्यभूमि हो न कि अपशकुनको प्रतीक भन्ने प्रष्ट हुन्छ।
पनौतीमा रहेको त्रिवेणीधामलाई शचीतीर्थ अर्थात उत्तरप्रयाग भन्ने चलन पनि छ जहाँ स्वयं भगवान इन्द्रले १२०० वर्षसम्म तपस्या गरेर गौतम ऋषिको श्रापबाट मुक्त भएका थिए फलस्वरुप इन्द्रेश्वर महादेवको स्थापना भएको मानिन्छ। पुण्यमती नदीलाई बासुकि नागराजको बासस्थान मानिनु। लीलावती नदीलाई फूलचोकीको बरदान मानिनु। लड्केश्वर र फड्केश्वरमा पाइला राखेर भगवान महादेव गोसाईंकुण्ड जानुभएको थियो भन्ने मान्यता सहित सो स्थानलाई प्राकृतिक मन्दिरको रुपमा मान्दै अाउनु, नेपालमा कहीं नभएको द्रौपदादेवीको मन्दिर हुनु, भालेश्वर, धनेश्वर, गोरखनाथ, बाघभैरव र शारदादेवी जस्ता पवित्र देवालय, तीर्थस्थल र शक्तिपीठहरु हुनुले पनौती एक पौराणिक नगरी मात्र हैन देवभूमि र तपोभूमि पनि हो।
पनौती मन्दिरहरुको मात्र नगर नभै प्रकृति, संस्कृति र मानवनिर्मित बस्तुहरुको कलात्मक संयोजन हो। सुन्दर प्राकृतिक छटा, मनोरम वातावरण, कृषियोग्य जमिन, सुन्दर फाँट र गराहरु, हराभरा बन र खोलानाला, विभिन्न पदमार्ग, जैविक विविधता, ट्राउट माछाको लागि योग्य स्थल, धान, सुन्तला र दूधको भण्डार, नेपालकै तेस्रो जलविधुत अायोजना (पनौती जलविधुत) यमरीको उद्गमस्थल, रेशमखेतिको लागि योग्य स्थल जस्ता विशेषताले भरिपूर्ण यो भूमि मानव सभ्यताको प्राचीनस्थल पनि हो।
`पनौती´ नगरपालिकाका यस्तै यावत विविधतातलाई समेटेर गीतकार प्रकाश सुवेदीले अाफ्नै गहन अध्ययन, अनुसन्धान र परिकल्पनामा नगरगान तयार पारेका छन् जसमा बरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र सिडी विजय अधिकारी तथा मिलन नेवारको स्वर रहेको छ। बरिष्ठ कलाकार हरिवंश अाचार्य सहित श्वेता खड्का, नम्रता सापकोटा, रविन्द्र खड्का, मुकुन्द थापा, नारायण प्रधान, रामेश्वर जङ्ग केसी, लक्ष्मण माटन्छी लगाएतका कलाकारहरु अभिनित भिडियोमा अजय रेग्मीको छायाङ्कन, निशाान घिमिरेको सम्पादन, महेन्द्र सुवेदीको भाषानुवाद, रमेश बाबा नेपालको निर्देशन र सभ्य सिर्जना प्रा. लि. को प्रस्तुति/ व्यवस्थापन रहेको छ। https://www.youtube.com/watch?v=7CdkZvAyapg&feature=youtu.be&fbclid=IwAR2z3zAsWumhYJCizZdGCxBuj-M0OqaFrRCcGx9SIzBkAmT7stQCga57Ztc&ab_channel=PanautiMunicipalityhttps://youtu.be/7CdkZvAyapg
Panauti Sundar Panauti || Introductory Song of Panauti Municipality || CD Vijaya || Milan Newar
youtube.com
सन्दर्भ सामग्री:- `पनौती´ परिचयात्मक पुस्तक सूर्यप्रसाद लाकोजू
ताजा समाचार
लोकप्रिय
© 2024, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.
%d bloggers like this: