काठमाडौं । प्रहरीले लामो समयपछि फेरि काठमाडौंमा सक्रिय नयाँ–पुराना ‘डन’को खोजी र उनका गतिविधिमा निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका नयाँ–पुराना ‘डन’ विरुद्ध अपरेसन सुरु गरेको हो । विगतमा प्रहरीले गुण्डागर्दी र गुण्डाहरुको गतिविधिमा विशेष निगरानी गर्दै आएको थियो ।
तर उनीहरुका गतिविधि सुस्ताएको भन्दै प्रहरी सक्रियतामा पनि कमी आएको थियो ।
पछिल्लो समय फेरि गुण्डागर्दी र उनीहरुका गतिविधि भित्रभित्रै बढ्नसक्ने संकेत पाएपछि प्रहरी सक्रिय भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले काठमाडौंमा सक्रिय नयाँ–पुराना सबै ‘डन’को निगरानी सुरु गरिएको बताए । एसएसपी सिंहले भने,“काठमाडौंको सुरक्षा चुनौतीको रूपमा ‘डन’हरु पनि छन् । डनहरूको सूची तयार पारेर उनीहरुका गतिविधि निगरानी गर्ने, खानतलासी गर्ने, आपराधिक कार्यमा संलग्न देखिए कारवाहीको दायरामा ल्याउने काम सुरु गरेका छौं ।”
उनले टोले गुण्डादेखि सबैमाथि निगरानी बढाइएको र अपराधिक क्रियाकलापको सूचना भए प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरे । प्रहरीले गुण्डाहरुको वर्गीकरणसमेत गर्दै आएको छ । जसमा ‘ए’ ग्रेडदेखि ‘डी’ ग्रेडसम्मका गुण्डाहरुको सूची बनाइएको छ । उनीहरुले गर्दै आएका गतिविधिका आधारमा प्रहरीले वर्गीकरण गरेको हो । गुण्डा समूहको निसानामा व्यापारी, होटल, रेष्टुरेन्ट सञ्चालकलगायत पर्दै आएका छन् ।
केही दिनअघि मात्रै प्रहरीले ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङमाथि भद्रकालीमा खानतलासी गरेको थियो । भद्रकाली अगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर तलासी गर्दा कारमा केही नभेटिएपछि प्रहरीले उनलाई छाडेको थियो । यस्तै प्रहरीले काठमाडौंको सुरक्षा चुनौती बढाउन सक्ने समूहविरुद्ध पनि सक्रियता बढाएको छ ।