काठमाडौं । नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपाको सचिवालय बैठकको पूर्व सन्ध्यामा पोखरेल गौतमलाई भेट्न भैसेपाटी पुगेका हुन् ।
गौतमलाई आफ्नो पक्षमा ल्याउन सके सचिवालयमा बहुमत पुग्ने भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई आफ्नो सन्देशसहित गौतम निवास पठाएका हुन् ।
यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । उनले आफूलाई समर्थन गरे सरकारमा रोजेर मन्त्रीपद दिनेसमेत आश्वासन दिएका थिए । जवाफमा गौतमले पहिला स्वच्छाचारी पवृत्ति त्याग्न सुझाव दिएका थिए ।
आज पनि ईश्वर पोखरेलमार्फत ओलीले आफूलाई सहयोगका लागि आग्रहको सन्देश पठाएको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।
नेकपाको सचिवालय बैठकमा प्रतिवेदनलाई लिएर आरोप–प्रत्यारोप चलिरहेको छ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।