धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ निर्देशन गरेपछि कार्यपालिका बैठक बिथोलिएको छ ।

प्रमुखले बैठकबाटै बाहिर जानू भन्नै अभिव्यक्ति दिनु गैरजिम्मेवारी भएको भन्दै कार्यपालिका सदस्यहरूले आपत्ति जनाएका छन् । उनीहरूले आज (बिहीबार)को कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।

प्रमुखले सार्वजनिक रूपमा माफी नमागेसम्म बैठकमा सहभागी नहुने कार्यपालिका सदस्यहरूले चेतावनीसमेत दिएका छन् ।

धरान १७ को सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले अघिल्ला जनप्रतिनिधिको पालामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार यसको निर्माण गर्नुपर्ने धारणा राखे । साम्पाङकै योजनाअनुसारको पार्क आदिवासी जनजाति महासङ्घको पहलमा विजयपुरमा निर्माण भइरहेकाले सप्तरङ्गी पार्कलाई अर्को बहुसांस्कृतिक पार्क बनाउनु नपर्ने बताएका थिए ।

तर देवानको कुरा नसिकँदै प्रमुख साम्पाङले उनलाई रोके । बस्न निर्देशन दिए । तर देवान रोकिएनन् । उनले आफूले बोल्न पाउनुपर्ने अडान राख्दा प्रमुख साम्पाङले बाहिर जान निर्देशन दिए ।

प्रमुख साम्पाङको अभिव्यक्ति जिम्मेवारपूर्ण नभएको भन्दै नगर प्रवक्ता तथा वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले प्रमुख साम्पाङको विरोध जनाए ।

प्रमुख साम्पाङले भने सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने आफ्नो एजेन्डा असफल बनाउन षड्यन्त्र भएको बताए । उनले माफी नमाग्ने अडान राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय