काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्‍त्री केपी शर्मा ओलीको विकल्प अरु कोही हुनै नसक्ने बताएका छन् ।

राजधानीमा आज फकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका विषयक अन्तर्क्रियामा राज्यमन्त्री मानन्धरले ओलीको विकल्प कोही नभएको बताएका हुन् । ७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उनले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताए ।

उनले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिबद्धताअनुसार वर्तामान सरकारले काम गरिरहेको बताए । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उनले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।

मन्त्री मानन्धरले नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने दाबी गरे । पार्टीमा केही राजनीतिक विवाद देखिए पनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उनले बताए ।

जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठूला परियोजनाहरुको निर्माण र समानुपातिक विकासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे । मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्बन गरेको बताउँदै जनताको जीवनरक्षाका लागि कुनै कसर बाँकी नराखिने बताए ।

दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले नि:शुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय