काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको महासंघको वार्षिक साधारणसभामा अध्यक्ष भवानी राणाले कोभिड १९ को राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिले मुलुकको अर्थतन्त्रमा निकै ठूलो चुनौती रहेको बताइन् ।
कोभिडले मानवीय क्षतिसहित विश्व अर्थतन्त्रलाई नराम्री प्रभाव पारेको र त्यस असर नेपाली अर्थतन्त्रले पनि भोगिरहेको उनले बताइन् । अनौपचारिक क्षेत्रमा काम गर्नेमध्ये एक अर्ब ६० करोड प्रत्यक्ष प्रभावित भएको र उनीहरुको जीवन संकटमा रहेको उनले बताइन् ।
करिब सात महिना मुलुक लकडाउनमा जाँदा त्यसले नेपालको अर्थतन्त्रलाई निकै अप्ठ्यारो पारेको उनले बताइन् । नेपालमा रहेका उद्योग व्यवसायमध्ये लकडाउनका बेलामा ४ प्रतिशत मात्रै पूर्ण रुपमा सञ्चालन भएको तथ्यांक राष्ट्र बैंकको रहेको भन्दै १६ देखि २० लाख नेपालीको रोजगारी गुम्ने आकलन विश्व श्रम संगठनको रहेको बताइन् ।
निजी क्षेत्र संकटमा रहेको भन्दै उनले हालको संकट अवस्थामा रहेको अर्थतन्त्रलाई पुन:स्थापित गर्न सरकार, निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । हालको चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने भन्दै उनले मौद्रिक नीतिको स्वागत गर्दै पूर्ण कार्यान्वयन गर्न आग्रह गरिने बताइन् । उनले युवा जनशक्तिलाई पूर्ण उपयोग गर्न सक्नुपर्ने भन्दै निजी क्षेत्रलाई सँगै अगाडि लिएर हिँड्न सरकारलाई आग्रह गरिन् ।
अध्यक्ष राणाले विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि आएको अमेरिकाको अनुदान सहयोग अगाडि बढाउन पनि आग्रह गरिन् । “एमसीसी परियोजना राष्ट्रिय सहमतिका साथ छिटो संसद्बाट पारित गरिनुपर्ने निजी क्षेत्रको धारणा रहेको छ,” उनले भनिन् । एमसीसीको लगानीले विदेशी लगानी थप भित्र्याउन सहयोग गर्ने उनले बताइन् ।