काठमाडौँ, मङ्सिर ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३३ मुद्दामा ८२ जनाविरुद्ध २९ करोड रुपियाँभन्दा बढी रकमको माग दाबी गरेको छ । उजुरी वा रङ्गेहात नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी अदालती कारबाहीका लागि विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले विभिन्न मुद्दामा अनुसन्धानपश्चात् ८२ जनाविरुद्ध २९ करोड ३८ लाख चार हजार ८५४ रुपियाँ बिगो दाबी गरिएको बताउनुभयो । आयोगले सबैभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा तीनवटा मुद्दामा १७ जनाविरुद्ध २७ करोड ५१ लाख चार हजार २९० रुपियाँ बिगो दाबी गरेको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा चार जनाविरुद्ध ९४ लाख ७२ हजार ५८० रुपियाँ माग दाबी गरिएको छ । जनताको करबाट उठेका रकमबाट तलब सुविधा खाने राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीलाई सहज, छिटो–छरितो ढङ्गले सेवा उपलब्ध गराउनु उनीहरूको कर्तव्य हो तर अनेक बहानामा सेवाग्राहीलाई दुःख दिने र घुस लिएको अभियोगमा ५० जनाविरुद्ध आयोगले ६३ लाख ३४ हजार ३७० बिगो दाबी गरेको छ । राजस्व चुहावट गरेर राष्ट्रलाई ठग्ने दुई जना पनि आयोगको फन्दामा परेका छन् । आयोगले दुई जनाविरुद्ध १६ लाख तीन हजार ४६७ रुपियाँ माग दाबी गरेको छ । गैरकानुनी लाभ वा हानि पु¥याएको भन्दै आठ जनालाई १२ लाख ९० हजार १४७ रुपियाँ माग दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय