गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना डिआइजीको सरुवा गरेको छ । चारवटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
मन्त्रालयले शुक्रबार नौ जना डिआइजीको सरुवा तथा पदस्थापन गरेको हो । सरुवामा चार जना प्रदेश प्रहरी प्रमुख पनि परेका छन् । लुम्बिनी, सुदूपश्चिम, मधेश र वाग्मती प्रदेशका प्रहरी प्रमुख फेरिएका हुन् ।
सरकारले प्रदेश प्रहरी प्रमुख बनाएर डिआइजीहरु वाग्मतीमा पूजा सिंह, लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेसमा मसाउद आलम खाँलाई पठाएको छ । डिआइजी राजेन्द्रप्रसाद चौधरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
मधेस प्रदेशका उमेश रञ्जितकार, वाग्मतीका प्रकाशजङ्ग कार्की र लुम्बिनीका मुकुन्द आचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । हाल सुदूपश्चिममा नेतृत्व गरिरहेका डिआइजी पुरुषोत्तम कँडेलको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा सरुवा भएको छ ।
सरकारले शुक्रबार नै डिआइजीहरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई पदस्थापन गरेको थियो । उनीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रले दर्ज्यानी प्रदान गरेका छन् ।