भरतपुर महानगरका २५ वटै वडाका कांग्रेस सभापतिहरुको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन नगरी एकल चुनावमा जानुपर्ने माग राखेको छ । आज (मंगलबार) कांग्रेस पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिहरुको भेलाले महानगरमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ । भरतपुर महानगरका २९ वडामध्ये २५ जना वडा सभापतिहरु बैठकमा सहभागि हुनुभएको थियो । महानगरभित्र गठबन्धन गरिए सबै उम्मेदवारहरुलाई बहिष्कार गरेर जाने चेतावनी दिएको छ । मेयर, उपमेयर, वडाध्यक्ष, वडासदस्य सबै पदमा कांग्रेसकै उम्मेदवारहरु बनाउनुपर्ने माग गरेको छ ।
भरतपुर–१५ कांग्रेस वडा सभापति ज्योति कँडेलले एकल निर्वाचनमा जान जिल्ला सभापति मार्फत केन्द्रीय सभापतिलाई निर्णयपत्र बुझाइएको बताउनुभयो । “महानगरमा कांग्रेस सक्षम छ, चुनावी तालमेल गरेर जानु आवश्यक छैन”, उहाँले भन्नुभयो, “गठबन्धनको पक्षमा वडा सभापतिहरु सहमत हुनुहन्न, एकल निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।” उहाँका अनुसार २९ वडामै कांग्रेसकै तर्फबाट उम्मेदवारहरु चयन गरेर चुनावी अभियानमा होमिने वातावरणका लागि जिल्ला मार्फत केन्द्रलाई अनुरोध गरिएको बताउनुभयो । पार्टीले गठबन्धन गरेपनि त्यसको विरोधमा स्वतन्त्र उम्मेदवारहरु तय गरिने चेतावनी समेत वडा सभापतिहरुको बैठकले दिएको छ ।
भरतपुर महानगरको मेयर पद केन्द्रीय सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रलाई दिन तयार भएको खबर आएलगत्तै वडा सभापतिहरुको बैठक बसेको थियो । माओवादीको संगठन महानगरमा कमजोर रहेकाले कांग्रेसलेनै मेयर पद पाउनुपर्ने अडान राख्दै आइरहेको छ । यसैबीच, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुरको मेयर पदमा कांग्रेसले अडान नछोड्ने बताउनुभयो । मेयर पद माओवादीलाई दिइएको भन्ने समाचारबारे आँफुलाई जानकारी नरहेको बताउनुभयो । उहाँले भरतपुरको मेयर कांग्रेसलेनै पाउनुपर्ने निर्णयबारे पार्टी सभापति र शिर्ष नेतृत्वलाई जानकारी गराइसकिएको बताउनुभयो ।