नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आराेप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले पालिका सरकार बलियो बनाउन कानुन बनाउन दबाब दिँदा पनि तत्कालीन नेकपा एमाले सरकारले वास्ता नगरेको बताउँदै भन्नुभयो, ‘नेपाल मात्र यस्तो देश हो जहाँ परिवर्तन नेपाली कांग्रेसले गर्छ, सत्ता कम्युनिस्टले चलाउँछ ।’ नेतृ भुसालले लोकतान्त्रिक पद्धतिको चुनावमा जाने नेपालका कम्युनिस्टहरूले कहिले पनि परिवर्तनको नेतृत्व सम्हाल्न नसकेको बताउनुभयो ।
लोकतन्त्रको पर्यायवाची नेपाली कांग्रेस रहेको जिकिर गर्दै नेतृ भुसालले नागरिकले तिरेको कर भ्रष्टाचारमा लगाउन नदिन कांग्रेसले तीनै तहको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशको राजनीतिको बागडोर सम्हाल्न कांग्रेसबाहेक अरू कुनै दलले नसकेको उहाँको दाबी छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बरसिंह पुनले कांग्रेसविना देशको निकास सम्भव नभएको दाबी गर्नुभयो । उहाँले संविधानको रक्षा कांग्रेसबाहेक अरू दलले गर्न नसक्ने भन्दै अबको चुनावमा कांग्रेस पार्टी बहुमतका साथ पहिलो बन्ने दाबी गर्नुभयो ।