रामेछापको मन्थली नगरपालिका–१३ स्थित देवीटारमा निर्मित सबस्टेसनको शनिबार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
सबस्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत प्रणालीमा जोडिएको खिम्ती अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सबस्टेसन हो ।
स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट चारअन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०÷१३२ केभीको सबस्टेसन निर्माणको काम पूरा भएको हो ।
सो सबस्टेसनले गोङ्गरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्ने छ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौँ पनि जोड्ने छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिचित खिम्ती सबस्टेसन उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति रहेको थियो ।
सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।