नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घमण्ड त्यागेर जनतासँग सहज प्रस्तुत हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मङ्गलबार नवनिर्वाचित अध्यक्षको पद तथा गोपनीयताको शपथ लिएर एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएपछि ओलीले यस्तो आग्रह गरेका हुन् ।
‘कुनै नेता घमण्डी र अहङ्कारी हुँदैन । अहङ्कारी व्यक्ति नेता हुँदैन, नेता अहङ्कारी हुँदैन’, उनले भने, ‘त्यसैले घमण्ड त्याग्नुस् । जनतासँग सरल र सहज प्रस्तुत हुनुस् ।’यस्तै, उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्न क्रियाशील हुन कार्यकर्तालाई आह्वान गरे । आफूहरूमाथि बाह्य–भित्री हमाला भइरहेको भन्दै उनले त्यसबाट जोगिएर अझ थप सफलता प्राप्त गर्ने बताए ।
एमालेले अब तीन महिनापछि कार्यकर्ता एकता अभियान चलाउने भएको छ । केही समयपछि बस्ने केन्द्रीय कमिटीको बैठक बसेर पहिलो बैठकले २५ गते शनिबार अर्काे बैठक बसेर नयाँ निर्णय गर्ने भएको छ । २५ र २६ गते स्थायी कमिटी गठन र पोलिटब्युरो गठन गर्ने भएको छ ।