चितवनमै पहिलो पटक राष्ट्रव्यापी पौडी प्रतियोगिता हुने भएको छ ।
लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिसोर्ट देवनगरको आयोजनामा कात्तिक २७ र २८ गते सो प्रतियोगिता हुने सञ्चालक देवेन लोहनीले जानकारी दिए ।
चितवनमा खेलकुद पर्यटनको विकासका लागि नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता गरिने उनको भनाइ छ । आफूहरूले अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी निर्माण गरेको र सामाजिक उत्तरदायित्वअन्तर्गत सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । दुई करोड लगानीमा २५ मिटर लम्बाइ छ लेनसहितको १८ मिटर चौडाइको पुल रहेको छ ।
प्रतियोगितामा ८ वर्षदेखि १४ र १५ देखि माथिका उमेर समूहलाई कुल ३६ विधामा प्रतिस्पर्धा गराइने उनको भनाइ छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी हुन मोरङ, चितवन, ललितपुर, पोखरा, काठमाडौँलगायत अन्य जिल्लाबाट नाम टिपाएको उनको भनाइ छ ।
चितवनबाट सहभागी हुनेले पाँच सय र बाहिरी जिल्लाकालाई एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।