१३ दिनदेखि आमरण अनसनमा बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् । अनसन बसेको १३ औँ दिनमा सरकार र खानबीच सहमति भएपछि अनसन तोडेकी हुन् ।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छ सदस्यीय समिति बनाउने सहमति भएको छ ।
सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने भएपछि सहमति गरेकाे हाे । सहमति गरेसँगै माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर खानको अनसन तोडाएका हुन् ।
उक्त प्रकरणमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जबाट रुवी खानसहितका महिला अधिकारकर्मीहरू काठमाडौँ आएर आमरण अनसन बसेका थिए ।
आन्दोलनको नेतृत्व खानले गरेकी थिइन् । त्यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने सात दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।
अनसन तोडेकी खान ले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताएकी छन् । खानले भनिन्,‘समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने हामी यो भन्दा कडा आन्दोलन गर्छौँ ।