युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित दर्ता गरेको छ । बुधबार समूह चरणका दोस्रो खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–१ गोलले हराएको हो ।
युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टिमलाई जिताउन एलेक्स टेल्लेस र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । भिल्लारियलका पाको अल्कासरले एक गोल गरे । भिल्लारियलले बनाएको अग्रता उल्टाउँदै युनाइटेडले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औँ मिनेटमा अल्कासरले गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाएका थिए ।
६०औँ मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा टेल्लेस गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । जेसे लिङ्गार्डको पासमा खेलको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।
जितसँगै समूह ‘एफ’को युनाइटेडले तीन अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले पहिलो खेलमा योङ्ग ब्वाइजसँग पराजय बेहोरेको थियो । भिल्लारियलसँग भने एक अङ्क छ । सोही समूहको योङ्ग ब्वाइजमाथि अटलान्टाले जित निकालेको छ ।