इङ्ग्ल्यान्डका पूर्वस्ट्राइकर माइकल अवेनले अर्जेन्टिनी स्ट्राइकर लियोलन मेस्सीको आगमनबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) झन् कमजोर भएको बताएका छन् । हालै बिटी स्पोर्स्टसँग कुरा गर्दै अवेनले मेस्सीले झन् पिएसजीलाई कमजोर बनाएको बताएका हुन् ।
सर्वाधिक ६ पटकका बालोन डी‘ओर विजेता मेस्सीले बुधबार राति पिएसजीबाट च्याम्पियन्स लिगमा डेब्यु गरे । बार्सिलोनासँगको २१ वर्षे यात्रा अन्त्य गर्दै पिएसजीमा अनुबन्धित मेस्सीले त्यसअघि लिग वानमा पनि एक खेल खेलेका थिए । तर दुवै लिगमा मेस्सीको प्रदर्शन राम्रो भएन ।
लिग वानमा मेस्सीको डेब्यु खेलमा पिएसजीले रेइम्समाथि जित निकाल्दा दुवै गोल किलिनय एम्बाप्पेले गरेका थिए । अनि च्याम्पियन्स लिगतर्फको डेब्युमा पिएसजीले बराबरी खेल्दै अङ्क बाँड्यो । मेस्सीसहितको सुपरस्टार खेलाडीले भरिपूर्ण पिएसजीले समूह चरणको पहिलो खेलमा बेल्जियमको क्लब ब्रगसँग १–१ गोलको बराबरी खेलेको थियो ।
मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रन्टलाइनमा ‘एमएनएम’ अर्थात् लियोनल मेस्सी, नेयमार र एम्बाप्पेलाई मैदान उतार्दासमेत पिएसजीले एक गोलभन्दा बढी गोल गर्न सकेन । मेस्सीले यो खेल सुरुदेखि अन्त्यसम्मै थिए । उनले यस खेलमा व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्न सकेनन् । बरु उल्टै एउटा पहेँलो कार्ड पाए ।
यता, ब्राजिलियन खेलाडी नेयमार पनि अन्त्यसम्मै थिए । उनले पनि राम्रो खेल्न सकेनन् । एम्बाप्पेले ५१औँ मिनेटमै मैदान छोड्नु परेको थियो । चोट बोकेपछि प्रशिक्षक पोचेटिनोले मौरो इकार्डीलाई मैदान छिराउँदै एक असिस्ट गरेका एम्बाप्पेलाई निकालेका थिए ।
‘पिएसजीमा ती फरवार्ड हुनु अविश्वनीय हो, उनीहरू आफ्नो ठाउँमा उत्कृष्ट छन्,’ अवेनले भनेका छन्, ‘तर तीन फरवार्ड एकसाथ हुँदा पिएसजी अझ कमजोर भएको छ । तरपनि किन उनीहरूलाई च्याम्पियन्स लिगमा एकै पकट खेलाइयो, मैले बुझ्न सकेको छैन ’
यस्तै उनले पिएसजीभन्दा इङ्ग्लिस क्लबहरू चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड बलियो टिम भएको पनि बताए । अवेनले जियानलुइगी डोनारुम्मा र रामोसलाई खेलाएको भए जित्ने सम्भावना धेरै हुने उनले भने, ‘बरु मेस्सीले भन्दा डोनारुम्मा र रामोसले जित्ने सम्भावना बढाउन्थे । मेस्सी पेरिस पुगेर पिएसजी झन् कमजोर भएको छ ।’