विश्वकप विजेता पल पोग्बाले क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड आगमनबाट आफू धेरै पुलकित भएको बताएका छन् । पोर्चुगिज स्ट्राइकर युनाइटेड फर्किएको विषयमा प्रक्रिया दिँदै फ्रान्सेली मिडफिल्डर पोग्बाले ‘महान्’ खेलाडीसँग खेल्न पाउँदा हर्षित रहेको बताए ।
पाँच पटकका बालोन डी‘ओर रोनाल्डो गत मङ्गलबारमात्र आधिकारिक रूपमा ओल्ड ट्राफोर्डमा अनुबन्धित भएका थिए । १२ वर्षपछि पुनः इङ्ग्ल्यान्ड फर्किएका उनले शनिबार न्युकासलविरुद्धको खेलबाट युनाइटेडमा दोस्रो पटक डेब्यु गर्ने सम्भावना छ ।
यसअघि ६ वर्ष इङ्ग्ल्यान्ड बसाइका क्रममा उनले दुई सय ९२ खेल खेलेर एक सय १८ गोल र ६९ असिस्ट गरेका थिए । त्यसबाहेक उनले पहिलो बालोन डी‘ओर त्यहीबाट जितेका थिए भने एक पटक च्याम्पियन्स लिग र तीन पटक प्रिमियर लिगको उपाधि जितेका थिए ।
सन् २००९ मा इङ्ग्ल्यान्ड छोडेर स्पेनिस महारथी क्लब रियल मड्रिड पुगेका रोनाल्डोले थप चार–चार वटा च्याम्पियन्स लिग र बालोन डी‘ओर जितेका थिए । नौ वर्ष मड्रिड बसाइ अन्त्य गर्दै इटाली पुगेका रोनाल्डो तीन वर्षमात्र त्यहाँ अडिन सके । सन् २०१८ मा रियलको इतिहासमा सर्वाधिक महँगा खेलाडी बन्दै युभेन्टस पुगेका उनले च्याम्पियन्स लिग र बालोन डी‘ओर दुवै थप्न सकेनन् । त्यसैबाट निराश बनेका उनी सम्झौता सकिनुभन्दा एक वर्षअगावै इटालीबाट बिदा भएर इङ्ग्ल्यान्ड फर्किएको आँकलन गर्न सकिन्छ ।
रोनाल्डोले युनाइटेडसँग दुई वर्षको सम्झौता गरेका छन् । सन् २०२३ सम्मको सम्झौता गरेका रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्पसमेत दिइएको छ । उनी युभेन्टसबाट २३ मिलियन युरोमा ओल्ड ट्राफोर्ड फर्किएका हुन् । प्रिमियर लिग क्लबले रोनाल्डोका लागि युभेन्टसलाई १५ मिलियन युरो तिर्नुपर्नेछ । र, सम्भावित रूपमा आठ मिलियन थप्नेगरी २३ मिलियन युरो ट्रान्सफर फी हुन आउँछ ।