गण्डकी प्रदेशमा रहेका ११ र मन्त्रीमध्ये नौ जनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकारलाई सम्पत्ति विवरण बुझाउने क्रममा आफ्नो सम्पत्ति सार्वजनिक गरेका ती मन्त्रीमध्ये छ जना मन्त्रीले आफू विभिन्न वित्तीय संस्थाको ऋणी रहेको उल्लेख गरेका छन् भने ऋणी नहुने मन्त्रीको सूचीमा तीन जनामात्रै रहेका छन् ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २५ लाख रुपैयाँ ऋण भएको व्यहोरा बुझाएका छन् । उनको त्यो ऋण २०७६ सालमा कृषि विकास बैङ्कबाट लिएको जनाएका हुन् । तर तलबबाट जम्मा भएको पाँच लाख रुपैयाँ भने नगद रहेको पोखरेलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री नेपालीले पाँच तोला सुन, श्रीमतीको नाममा २० लाख बराबरको घर, आफ्नो नाममा काठमाडौँ र तनहुँमा गरी चार कित्ता जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको नाममा पोखरा महानगरपालिकामा एक घर रहेको विवरण बुझाएका छन् । उक्त घर मन्त्री खड्काले स्वआर्जन र पैतृक सम्पत्तिबाट बनाएको जनाएका छन् । उनीसँग पनि विभिन्न बैङ्क तथा वित्तीय संस्थामा एक करोडभन्दा बढी नगद, ५६ लाख रुपैयाँ बराबरको शेयर हुनुका साथै ८५ लाख रुपैयाँ ऋणमा लगाएका उल्लेख गरेका छन् । खड्कासँग मात्रै पाँच तोला सुन रहेको सम्पत्ति विवरण उल्लेख छ ।
अर्थमन्त्री रामजी बरालले पनि एनआइसी एसिया बैङ्कमा एक करोड रुपैयाँको ऋणी रहेको देखाएका छन् । बरालको ६० हजार रुपैयाँको गाई, निफ्राको ६० कित्ता सेयर, बैङ्कमा तीन लाख नगद रहेको गण्डकी प्रदेश सरकारको वेबसाइटमा उल्लेख छ । मन्त्री बरालका दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको उल्लेख गरिएको छ ।
यसैगरी व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापासँग ९० तोला सुन, पोखराका विभिन्न छ स्थानमा घर, आठ स्थानमा जग्गा रहेको सम्पत्ति विवरण सरकारी वेबसाइटमा उल्लेख गरिएको छ । उनीसँग घरमा नगद ५५ हजार रुपैयाँ रहेको छ भने ५० तोला चाँदीसहित १५ तोला हिरा पनि मन्त्री थापाको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै थापाले बैङ्क तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात र सगोलमा रहेको परिवारकोे सात लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री थापाले आफुसँग दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटल, मल, रिसोर्टलगायतमा आफ्नो लगानी रहेको विवरण बुझाएका छन् ।
गण्डकी प्रदेशका अर्का एक मन्त्रीसँग एक किलोभन्दा बढी सुन रहेको सार्वजनिक भएको छ । प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफूसँग एक किलो १९ तोला सुनसहित अन्य सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । त्यस्तै उनीसँग सात किलो दुई तोला चाँदी र एक थान हिराको औँठी रहेको सार्वजनिक गरेका छन् ।
यता वनमन्त्री दीपक थापासँग ३० तोला सुन र २० तोला चाँदी रहेको छ । विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण भएका थापाले स्याङजामा ५० हजार रुपैयाँमा घर किनेको सम्पत्ति विवरण बुझाएका छन् । त्यस्तै पोखरामा ४० लाख रुपैयाँमा जग्गा किनेको र उक्त रकम आफ्नो सांसदवापत पाएको तलबभत्ता र छोराछारीको व्यवसायमार्फत जुगाड गरेको जनाएका छन् ।
त्यस्तै ऊर्जामन्त्री हरिशरण आचार्य पनि आफू बैङ्कको ऋणी भएको विवरण बुझाएका छन् । कृषि विकास र प्रभु बैङ्कमा रहेको ५० लाख ऋणमध्ये १० लाख रुपैयाँ तिरेको विवरण आचार्यले बुझाएका छन् । उक्त ऋणबाट २० लाख रुपैयाँमा फर्निचर उद्योग सञ्चालन गरेको जनाएका मन्त्री आचार्यसँग आठ तोला सुन र पाँच तोला चाँदी रहेको सम्पत्ति विवरण देखाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले लमजुङको दूधपोखरीमा घर, लमजुङ, चितवन र हेटौँडामा चार ठाउँमा जग्गा, तीन तोला सुन र आठ लाख ६० हजार रुपैयाँ नगद मौज्दात रहेको विवरण पेश गरेकी छन् ।
पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले पनि आफ्नो सम्पत्ति विवरण बुझाउने क्रममा बागलुङको लेखानीमा छ स्थानमा जग्गा, ईन्द्रकली कँडेलको नाममा लेखानीमै र नरेठाँटीमा गरी सात स्थानमा जग्गा देखाएका छन् । त्यस्तै आफ्नै नाममा चितवन र रुपन्देहीमा १४ स्थानमा जग्गा भएको मन्त्री कँडेलले जनाएका छन् भने बागलुङमा ४८ लाख ५० हजारमा किनेको घर पनि उल्लेख गरेका छन् । उनीसँग २५ तोला सुन तथा एक किलो चाँदी, आफ्नो र ईन्द्रकली कँडेलको नाममा गरी करिब आठ लाख रुपैयाँ नगद रहेको छ । त्यस्तै विभिन्न संस्थामा करिब ८७ हजार कित्ता सेयर भएका मन्त्री कँडेलले दुई करोड ६७ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
खेलकुद मन्त्री दीपक मनाङे र कृषि मन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति विवरण भने उल्लेख गरिएको छैन ।