यसपालिको वर्षामा मेलम्ची नदीमा आएको बाढीमा हालसम्म एक सय ११ वटा घरटहरा बगाएको छ । गएराति बगाएको तीन घरसहित हालसम्म जम्मा एक सय ११ वटा घरटहरा बगाएको हो ।
अविरल वर्षासँगै गएरातिको बाढीले मेलम्ची–६ नेपाने बगरका थप तीन घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए ।
कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको उनले जानकारी दिए । बाढीबाट अरु घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।
यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।