अफगानिस्तानका राष्ट्रपति असफर घानीले आपतकालीन बैठक बोलाएका छन् । राजधानी काबुल सहरमा विद्रोही तालिबानी लडाकू प्रवेश गर्न थालेपछि राष्ट्रपति घानीले आपतकालीन बैठक बोलाएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर सङ्कटमा परेको बताएका थिए ।
अफगानिस्तानको सुरक्षा मजबुत बनाउनका लागि सेनालाई सङ्गठित बनाइने राष्ट्रपति घानीले बताएका थिए । आइतबार बिहानैदेखि तालीबानीहरू काबुलमा घुस्न थालेपछि त्यहाँको सङ्कट थप गहिरिएको छ ।
तालिबानीहरूले काबुल बाहेकका सहरहरू कब्जामा लिइसकेका छन् । उनीहरू तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् ।
प्रमुख सहर जलालाबादका सरकारी अधिकारीहरूले कुनै प्रतिवादबिनै तालिबानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिवानीहरू काबुलतर्फ अघि बढेका हुन् ।
यसैबीच अमेरिकाले आफ्ना पाँच हजार सैनिकलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकको उद्धार सुरु गरेको छ ।
काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ । सहरका कैयौं इलाकामा तालिबानी झन्डा फहराइएका छन् । केही स्थानमा गोली चलेकाे आवाज आइरहेकाे छ । -बिबिसी