मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वमा बनेको लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारका लागि थप दुई लाख रुपैयाँ दिने लगायतका निर्णयहरू गरेको हो ।
यस्ता बिरामीहरूले उपचार खर्चका लागि यसअघि पाउँदै गरेको एक लाखमा दुई लाख रुपैयाँ थपेर तीन लाख पुर्याइएको छ ।
यसैगरी बैठकले कोभिड–१९ का बिरामीहरूको उद्धार गर्न हटलाइन र एम्बुलेन्स समेतको व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खडकाले बताए ।
मातृ मृत्युदर कम गर्नका लागि लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एक-एक वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्सको सेवा उपलब्ध गराउने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकाे प्रवक्ता खड्काले बताए ।
मन्त्रिपरिषद्काे पहिलाे बैठकका आठ निर्णयः
१- प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने ।
२-कोभिड–१९का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स)को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने ।
३-कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर मार्फत एन्टिजेन टेस्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने ।
४-कोभिड- १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने ।
५-प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्कालाई तोक्ने ।
६- मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने ।
७- क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्ब फेर्नुपर्ने बिरामीहरूलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखका दरले उपलब्ध गराउने ।
८- मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एक-एक वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्स उपलब्ध गराउने ।