काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आज दिउँसो ४ बजे सिंहदरबारमा कार्यक्रम सार्वजनिक गर्ने निर्णय लिएको थियो । आजको कार्यक्रममा सत्ता गठबन्धन दलका शीर्ष नेताको उपस्थिति रहने जनाइएको छ ।
सत्तारुढ गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको थियो।
काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले दुई साता लगाएर साझा कार्यक्रम र कार्यविधि तयार पारेको हो । ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता समावेश गरिएको छ।