आधिकारिकता सम्बन्धी विवादमा अल्झिएको जनता समाजवादी पार्टी (जसपा)को विवादको छिनोफानो आज (सोमबार) हुँदैछ ।
निर्वाचन आयोगले जसपा विवाद बारे आज निर्णय दिने भएको हो । आधिकारिकता विवाद सम्बन्धमा आयोगले निर्णय दिने भएपछि अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष अलगअलग छलफल र बैठकमा व्यस्त छन् । दुवै समूह आआफ्नै रणनीति बनाउने गृहकार्यमा जुटेका हुन् ।
यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका हुन्।
रातभर रिसोर्टमै राखिएका उनीहरुलाई आज सिधै निर्वाचन आयोगमा लिएर जाने तयारी यादव पक्षको छ । यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ ।
लामो समयदेखिको विवादका कारण फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति र संसदीय दल दुवैतर्फ यादव समूह बलियो देखिएको छ । केही समयअघिसम्म संसदीय दलमा बलियो रहेको ठाकुर पक्ष पछिल्लो समय निक्कै कमजोर बनेर गएको छ ।