प्रि–सिजनअन्तर्गत जर्मन च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बायर्न बुन्डेसलिगा प्रतिद्वन्द्वी एफसी कोल्नसँग ३–२ गोलले पराजित भएको हो ।
एमएस टेक्नोलोजी एरिनामा कोल्नका लागि मार्क उठले दुई तथा जन थिलम्यानले एक गोल गरे । बायर्नका लागि भने अर्मिन्डो र सेइबले एक–एक गोल गरे ।
खेलमा बायर्नले सुरुआती अग्रता बनाएको थियो । तर उक्त अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो ।
बायर्न र कोल्नले पहिलो हाफ २–२ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा कोल्ने एक गोल गर्दै बायर्नमाथि जित निकालेको हो ।
दुवै टोलीले बुन्डेसलिगाको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् । जर्मन बुन्डेसलिगा आगामी अगस्ट १३ बाट सुरु हुनेछ । उद्घाटन खेलमै बायर्नले मोन्चेनग्लाडबाचसँग खेल्नेछ । कोल्नले १५ अगस्टमा हेर्थासँग खेल्दै बुन्डेसलिगाको सुरुआत गर्ने छ ।