सर्वाेच्च अदालतले साेमबार प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे निर्णय बदर गर्दै पुनर्स्थापना गरिदियाे । संसद ब्युँताउँदै सर्वाेच्चले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलबार साँझ ५ बजेभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशसमेत जारी गर्याे ।
सर्वाेच्चकाे फैसलापछि विपक्षी गठबन्धनले आगामी नीति तर्जुमा गर्न छलफल सुरु गर्याे । काेटेश्वरमा बसेकाे गठबन्धनकाे बैठकले सरकार गठनमा लाग्ने निर्णय गरिसकेकाे छ ।
गठबन्धनमा सामेल दल जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार मङ्गलबार सानाे आकारकाे मन्त्रिमण्डल बनाउने र पछि मन्त्रीहरू थप्दै जाने सहमति भएकाे छ ।
बैठकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेता सहभागी थिए ।
मङ्गलबार काङ्ग्रेसबाट मात्रै मन्त्री
सरकार गठनकाे तयारीमा लागेका काङ्ग्रेस सभापति देउवाले मङ्गलबार सानाे आकारकाे मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । सत्ता समीकरणका लागि गठबन्धनका सबै दलकाे चित्त बुझाउनुपर्ने भएकाले अन्य दलबाट सहभागी हुने मन्त्रीहरूलाई पछि शपथ गराउने तयारी गरेकाे स्राेतले बतायाे ।
काङ्ग्रेस उच्च स्राेतका अनुसार काङ्ग्रेसभित्र पनि तीन समूह रहेकाले सबै समूहकाे चित्त बुझाउनुपर्ने बाध्यता छ । मङ्गलबार शपथ लिने मन्त्रीहरू तीनै समूह समेटिने गरी हुनसक्ने स्राेत बताउँछ ।
स्राेतका अनुसार सम्भवतः मङ्गलबार रमेश लेखक, मीनेन्द्र रिजाल र गगन थापाले मन्त्रीकाे शपथ लिने छन् । मन्त्रिमण्डलमा जानेमा पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट थापा, वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहबाट रिजाल र देउवा समूहबाट लेखककाे नाम चर्चामा छ ।
कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति बनेमा अन्य दलबाट पनि भाेलि नै मन्त्रिमण्डलमा सहभागिता हुन सक्ने स्राेत बताउँछ । ‘अरू दल पनि भाेलि सरकारमा जान सक्छन्,’ स्राेतले भन्याे, ‘काङ्ग्रेसकै पनि चर्चामा रहेका नाम परिवर्तन हुन सक्छन् ।’
सरकारकाे आयु नेपाल समूह निर्भर
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गठबन्धनबाट अलग हुने घाेषणा गरेकाे छ ।
संसद पुनर्स्थापना भइसकेकाे र पार्टी एकताका लागि कार्यदलले सहमति गरिसकेकाले आफूहरू त्यतै ध्यान दिने बताउँदै नेपालले साेमबार गठबन्धनकाे बैठकमै आफू अलग्गिने बताएका हुन् ।
नेपाल निकट एक नेताका अनुसार उनकाे समूह सरकारमा सहभागी हुने छैन । तर गठबन्धनले सरकारमा सहभागी नभए पनि विश्वासकाे मत दिन आग्रह गरेकाे बताइएकाे छ ।
संवैधानिक प्रावधानअनुसार देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकाे ३० दिनभित्र सदनबाट विश्वासकाे मत लिनुपर्छ । गठबन्धनले संविधानकाे धारा ७६ (५) अनुसार गठन हुने सरकार भएकाले पार्टी एकता भए पनि ह्वीप नलाग्ने भएकाले नेपाल समूहलाई विश्वासकाे मतका लागि कन्भिन्स गरिरहेकाे छ ।
यदि माधव नेपाल समूहकाे मत नपाए देउवा सरकार अल्पमतमा पर्छ । त्यसपछि प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने हुन्छ । सदनबाट विश्वास पाएकाे खण्डमा डेढ वर्ष सरकारकाे नेतृत्व गर्ने देउवाले विश्वास गुमाए भने पनि सात महिना सरकार चलाउने छन् ।