BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

मोरङको बूढीगंगा गाउँपालिकास्थित हुलास वायर इन्डष्ट्रिज प्रा.लिविरुद्ध मजदुरले सुरु गरेको आन्दोलन आज (शुक्रबार) पनि जारी छ ।
एकै पटक ठूलो संख्यामा मजदुर निकालेपछि उद्योगविरुद्ध बुधबारबाट आन्दोलन सुरु भएको थियो । उद्योगले ज्यालादारी तथा करारमा काम गरिरहेका ९३ जनालाई निकालेपछि मजदुर हड्तालमा उत्रिएका हुन् ।

नियुक्ति पत्र र कानुन अनुसार सेवासुविधा दिइनुपर्ने माग राखेर मजदुरले गत मंगलबार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका थिए । समस्या सुल्झाउनुको साटो उद्योगले छलफल र जानकारी बिना नै भोलिपल्ट मजदुरलाई निष्कासन गरेको नेपाल कारखाना श्रमिक संघ इकाई उपाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार डेढ दशकभन्दा अघिदेखि कार्यरत मजदुरलाई उद्योगले नियुक्ति पत्र र न्यूनतम सेवा सुविधा पनि दिएको छैन । ‘नियुक्ति पत्र र सेवासुविधा माग गर्दा श्रमिकलाई निकालियो,’ श्रेष्ठले भने, ‘त्यसविरुद्ध उद्योगको मूल गेटअगाडि धर्ना दिएर मजदुरहरु हड्तालमा उत्रिएका छन् ।’ उद्योगले एक वर्षअघि नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक दिने सहमति गरेको थियो । मजदुरको उजुरी परेसँगै उद्योगमाथि श्रम तथा रोजगार कार्यालयले कारबाही अघि बढाउने तयारी गर्दैगर्दा २०७७ असार २१ गते मजदुरलाई न्यूनतम पारिश्रमिक र नियुक्ति पत्र दिने सहमति उद्योगले गरेको हो । तर सहमति पालना नगरिकन उल्टै मजदुरलाई निष्कासन गरेपछि तनाव भएको श्रेष्ठले बताए ।

उद्योगमा सात सय ५० मजदुर कार्यरत छन् । कार्यरतमध्ये झण्डै आधाले नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक नपाएको उनको भनाइ छ । श्रेष्ठले कुनै पनि कामदारलाई अवकाश दिँदा ट्रेड युनियनसित छलफल गर्ने, कानुन अनुसारका सेवा–सुविधा एवं नियुक्ति पत्र दिने लगायत पूर्वशर्त रहेकोमा उद्योगले त्यसको पालना नगरेको गुनासो गरे ।

आन्दोलनरत मजदुर र उद्योग प्रशासनबीच बारम्बार छलफल एवं वार्ता भए पनि समस्याको समाधान भएको छैन । उद्योगका महाप्रबन्धक मुकेश कोठरीले यस विषयमा केही पनि बोल्न चाहेनन् । मजदुरले दिएको पछिल्लो उजुरीको अध्ययन गरेर यथार्थ विवरण उपलब्ध गराउन उद्योगलाई पत्राचार गरिसकिएको श्रम तथा रोगजार कार्यालय विराटनगरका सूचना अधिकारी रामप्रसाद तिमल्सिनाले बताए । सहमति र नियम अनुसार श्रमिकलाई नियुक्ति पत्र एवं पारिश्रमिक नदिएको तथा कामबाट निकालेको पाइएमा उद्योगमाथि कारबाही हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय