१६औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार (११ जुलाई) मा इङ्ग्ल्यान्ड र इटाली युरोपियन च्याम्पियन बन्ने दाउमा रहनेछन् ।
फाइनल खेल लन्डनस्थित वेम्ब्ली स्टेडियममा नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ । जसमा इटाली दोस्रो उपाधि जित्ने दौडमा हुनेछ भने इङ्ग्ल्यान्ड पहिलो । यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको युरो कपको उपाधि जितेको थियो । उसले युगोस्लाभियालाई फाइनलमा रोक्दै उपाधि जितेको थियो ।
सोही संस्करणमा इङ्ग्रल्यान्ड तेस्रो स्थानमा सीमित बनेको थियो । इङ्ग्ल्यान्ड दोस्रो पटक सन् १९९६ मा आफ्नै मैदानमा आयोजना भएको युरोमा पनि तेस्रो स्थानमा सीमित बन्न पुगेको थियो । सन् २०२० को संस्करणमा भने इङ्ग्ल्यान्ड फाइनलमा पुगेको छ । इङ्ग्ल्यान्ड युरो कपको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।
सेमिफाइनलमा इङ्ग्ल्यान्डले डेनमार्कलाई स्तब्ध बनाउँदा इटालीले तीन पटकको विजेता राष्ट्र स्पेनलाई रित्तो हात घर फर्कायो ।